Navigation

मापदण्ड नपुगेका सीमापारीका क्लिनिक जोखिमका घर, सीमावारीको उपचार पद्धति बन्दै विश्वासको भर

By Prabhu Hospital Nov 10, 2022

कम खर्च मै अप्रेशन गराउने चक्करमा जोखिम मोलेर नेपालको सिमावर्ती क्षेत्रका मानिसहरु उपचार गराउन सीमापारी पुग्दा त्यहाँको स्वास्थ्य मापदण्ड नपुगेका क्लिनिकहरुमा अपरेशन भई अनाहकमा ज्यान गुमाइरहेको खुलेको छ । सस्तोमा उपचार हुने अपेक्षाले भारतसंग जोडिएको सिमावर्ती क्षेत्रका मापदण्ड नपुगेका स्वस्थ्य संस्थामा अपरेशन गराउन पुगेका यताका मानिस अकाल मै ज्यान गुमाउन बाध्य हुने गरेका हुन् ।

सिमावर्ती क्षेत्रमा खोलिएका अदक्ष चिकित्सकको उपचारले नेपालीहरु अकालमा मृत्युवरण गर्न परेको छ । पर्साको बहुदरमाई नगरपालिका वार्ड नं. २ पिपरा टोलका रविन्द्र प्रसादले सस्तो सुविस्ताको चक्करमा श्रीमतीको उपचार गराउँदा मृत्युको मुखबाट श्रीमतिलाई जोगाउनु प¥यो । उनले भारत विहारको कोइरीहार चोकस्थित एक क्लिनिकमा श्रीमती प्रभा देवीको पाठेघरको अप्रेसन गराए तर पेट चिरेर अप्रेसन भइसकेको भनेर फर्काइएकी प्रभा देवीलाई दुई दिनपछि क्षमताभन्दा बढी पेटमा सुजन भयो । त्यसपछि दिसा पिसाब रोकियो, ‘पुनः सोहि क्लिनकमा जादाँ विभिन्न बहाना देखाएर फिर्ता पठाइयो’ रविन्द्र प्रसादले भने । त्यसपछि विहारकै विभिन्न सीमावर्ती अस्पताल तथा क्लिनकमा श्रीमतीको उपचार गरिदिन हारगुहार गर्दा त्यहाँ कसैले पनि अवस्था हेरी मन्जुर गरेनन् उनले थपे । अन्ततः महँगो भए पनि पुनः श्रीमतिको उपचार वीरगंज फर्केर यहींका चिकित्सकसंग गराउन थाल्दा अहिले भने श्रीमती जोखिम बाहिर रहेको रविन्द्र प्रसादले बताए ।

प्रभा देवी मात्र नभई यस्तै चक्करमा गत साउनमा रौतहट इसनाथ नगरपालिका औराहाकी सविता देवी पनि परेको पीडित परिवारको भनाइ छ । उनको पनि अप्रेसन गराउन श्रीमान रमेश प्रसाद साहले भारत विहारकै कोइरीहार टोलमा पु¥याए । अप्रेसन सफल भएको भनेर घर फर्काइएपछि तीन दिन पछि उनको दिसा पिसाब नभएर पेटमा सुजन हुदैँ गएपछि पुनः अप्रेसन गरेकै कोइरिहार चोक स्थित क्लिनिकमा पुगे । त्यहाँका चिकित्सकले पेटमा क्यान्सर भएको भनेर घर फर्काइ दिए । क्यान्सरको उपचार हुँदैन भनेर उनीहरुले विरामीलाई फिर्ता गराई दिएको पीडित परिवारका आफन्त राम विकास साहले बताए ।

अन्तिम अवस्था रहेकाले अन्ततः एक पटक वीरगंजमा नै परिक्षण गराउने घरायसी सल्लाह अनुसार वीरगंजको प्रभु अस्पतालमा बिरामीलाई ल्याएको साहको भनाइ छ । नारायणी अस्पतालका चिकित्सक तथा प्रभु अस्पतालका सञ्चालक डा. मनोज कुमार गुप्ताले चेकजाँच गर्दा पाठेघरको अप्रेशन नभई आन्द्रा काटिएको पाइएको खुलासा भयो । सिकिस्त अवस्थामा आएकाले आन्द्राको नली बाहिर निकालेर काटिएको आन्द्रा सुकेपछि मात्रै अप्रेशन गर्नु परेकाले गत साता उनको ६ महिनापछि बल्ल अप्रेसन गरेर आन्द्रा जोडियो ।

यी माथिका केवल उदाहरण मात्र हुन् । सीमा पारीबाट नेपालीमा आउने झोले डाक्टर र मापदण्ड नपुगेका सीमा पारीका क्लिनिकहरुको कारण बर्षेनी धेरै नेपालीहरुको ज्यान जोखिममा जाने गरेको छ । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले उताको अपरेशन पछि पुनः यहाँका स्वास्थ्य संस्था र अस्पतालसम्म लान नसकेर पनि कतिपय बिरामीको निधन हुने गरेको पाइएको छ । थोरै पैसाको फाइदा हेर्दा यसरी सीमावर्ती क्षेत्रका कतिपयको जीवन जोखिममा पर्ने गरेको बाराको महागढीमाई नगरपालिकाका उमेश साहले तर्क गरे ।

सुरुमा नै नेपालका स्वास्थ्य संस्था वा चिकित्सकहरुसँग परामर्श लिने हो भने पछिल्लो समयमा सीमापारीका मापदण्ड नपुगेका स्वास्थ्य संस्थाहरु भन्दा राम्रो उपचार यही हुन थालेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट वीरेन्द्र बहादुर प्रधानले बताए । उता विग्रिएर आएका सयौं केश नारायणीमा उपचार पछि निको भएका घटना धेरै छन् । पित्त थैलीमा पथरी भएका व्यक्तिको पनि बच्चादानी फालिदिएका, आन्द्रा काटिएका विभिन्न फरक फरक केश भएका पीडित विरामी यहाँ आइपुग्ने गरेका छन् उनले भने । नयाँ टेक्नोलोजी र अध्ययन पछि नेपालमा पनि चिकित्सकीय सेवा स्तरीय भइरहेको यहाँका अन्य चिकित्सकहरुको पनि भनाइ छ ।

कोरोनाको समयमा भएको उपचारले पनि सीमावारीको उपचार पद्धतिमा सुधार भएको उदाहरण भेटिने पर्साका स्थानीय बुद्धिजिबीको भनाई छ । वीरगन्जकै स्वास्थ्य संस्थाहरुमा पनि उपचार सेवा राम्रो र खासै महंगो पनि नहुने गरेको उनीहरुको भनाइ छ । यहीका चिकित्सकले उपचार गर्दा केही कमजोरी भए तुरुन्त दबाव दिन पनि सकिने भएकोले अब सीमा पारीको उपचारको जोखिम मोल्नु नपर्ने उनीहरुको तर्क छ । - मध्य नेपाल अनलाईन मिडियाले लेखेको समाचार

More News

Contact Address
Birgunj, Nepal
prabhuhospital.org@gmail.com
051-520259,
051-520269
Specialities
Subscribe Newsletter
Subscribe our monthly newsletter.