वीरगन्जस्थित प्रभु अस्पतालद्वारा महिला प्रहरी र कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

प्रभु अस्पतालद्वारा महिला प्रहरी र कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण
वीरगन्ज : प्रभु अस्पताल वीरगन्जले जिल्ला प्रहरी कार्यालय, पर्सासँगको सहकार्यमा 'समुदाय–प्रहरी साझेदारी' कार्यक्रमअन्तर्गत महिला प्रहरी र महिला कैदीबन्दीका लागि निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रम महिलाको स्वास्थ्य, स्वास्थ्य परीक्षण, चिकित्सा परामर्श, आवश्यक औषधि र थप उपचारका लागि मार्गदर्शन प्रदान गर्ने विषयमा केन्द्रित रहेको थियो ।
प्रभु अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताले करिब ४० जना महिला प्रहरी र एक महिला कैदीको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो ।
कार्यक्रम पाठेघर र पाठेघरको मुखको क्यान्सर लगायत विभिन्न महिला स्वास्थ्य समस्याहरूको बारेमा जागरूकता बढाउने, निवारक हेरचाह र समयमै उपचारको बारेमा जानकारी प्रदान गर्नमा पनि केन्द्रित थियो।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । संयोजक दिलीपराज कार्की, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल र राजु कार्कीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रभु अस्पतालकी नर्सिङ निर्देशक सरिता सिंह, रेडियोग्राफर सञ्जित साह र फार्मासिस्ट मिखा श्रेष्ठको सहभागिता थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सोनी निम्हा फुकीले सहजीकरण गरेकी थिइन् ।
जिल्लाभर कार्यरत प्रहरीको स्वास्थ्य परीक्षण र स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकसँगको समन्वयमा आगामी दिनमा पनि यस्तै स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ
प्रभु अस्पतालले पहुँचयुक्त स्वास्थ्य सेवा, जनचेतना र सामाजिक उत्तरदायित्वको माध्यमबाट समुदायको सेवा गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।



