MPL सिजन ३ सम्पन्न: प्रभु हस्पिटलको स्वास्थ्य शिविरले थप्यो थप उत्साह
वीरगञ्ज, पर्सा – स्वर्गीय सुशील कुमार खेतानज्यूको स्मृतिमा मारवाडी युवा समाज द्वारा आयोजित मारवाडी प्रिमियर लिग (MPL) सिजन ३ सफलतापूर्वक सम्पन्न भएको छ। आदर्शनगर रंगशालामा आयोजना गरिएको यस डे–नाइट क्रिकेट प्रतियोगिता फागुन २९ गतेबाट सुरु भई चैत १० गते फाइनल खेलसँगै सम्पन्न भएको हो।
१५–१५ ओभरको रोमाञ्चक प्रतिस्पर्धामा गौरीशंकर हिमाल टिम विजेता बन्न सफल भयो भने अन्नपूर्ण टिम पहिलो उपविजेता बनेको छ। प्रतियोगिताभरि उत्कृष्ट खेल प्रदर्शन, उत्साहजनक सहभागिता र खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस प्रतियोगिताले खेलकुदको माध्यमबाट आपसी भाइचारा, अनुशासन र सामाजिक एकताको सन्देश फैलाएको आयोजकले जनाएको छ। साथै, युवाहरूलाई खेलकुदतर्फ प्रोत्साहित गर्दै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ।
साथै, Prabhu Hospital & Research Centre द्वारा सो प्रतियोगिताभरि नै सम्पूर्ण खेलाडीहरू मात्र नभई खेल हेर्न आउने दर्शकहरूको पनि प्रत्येक दिन स्वास्थ्य जाँच गरिएको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी र स्वास्थ्य–सचेत बनाएको थियो।
