Navigation
Emergency Call +977 9801559811, +977-9828200127

“घरदैलोमा डाक्टर” कार्यक्रम अन्तर्गत कोल्भी–८, बारामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

By Prabhu Hospital Jun 8, 2026

प्रभु हस्पिटल वीरगञ्जद्वारा सञ्चालित “घरदैलोमा डाक्टर” कार्यक्रम अन्तर्गत बारा जिल्लाको कोल्भी नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण, नितम्ब तथा घुँडा जोर्नी प्रत्यारोपण सम्बन्धी परामर्श प्रदान गर्नुभएको थियो। साथै, सेवाग्राहीहरूलाई निःशुल्क औषधि वितरण तथा सुगर परीक्षण सेवा समेत उपलब्ध गराइएको थियो।

यसैगरी, वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा आँखा विशेषज्ञ महेश सिंह धामीद्वारा निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको थियो।

उक्त स्वास्थ्य शिविरबाट ११० जना महिला र ९० जना पुरुष गरी कुल २०० जना सेवाग्राही लाभान्वित भएका छन्। सेवाग्राहीहरूमा वृद्धवृद्धा, बालबालिका, अशक्त तथा असहाय व्यक्तिहरू समेत सहभागी रहेका थिए।

कार्यक्रमका प्रमुख दिलिपराज कार्कीका अनुसार अस्पतालसम्म पुग्न समय, साधन वा सुविधा नपुग्ने नागरिकहरूलाई उनीहरूको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले “घरदैलोमा डाक्टर” कार्यक्रम सञ्चालन गरिएको हो।

कोल्भी नगरपालिका–८ का वडा अध्यक्ष अनुप सुवेदीले गाउँमै विशेषज्ञ चिकित्सकहरू आएर स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरेकोमा खुशी व्यक्त गर्दै यस्तो कार्यक्रमले स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष लाभ पुगेको बताउनुभयो।

कार्यक्रमका वडा संयोजक विशाल ठकुरीले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूले समाजप्रति उत्तरदायी भई यस्ता जनमुखी सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

शिविरका क्रममा आँखा परीक्षण गरिएका केही बिरामीहरूमा मोतियाबिन्दुको समस्या पहिचान भएको र त्यस्ता बिरामीहरूको शल्यक्रिया तत्कालै गरिने जानकारी समेत दिइएको थियो।

समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ प्रभु हस्पिटल वीरगञ्जले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

More News